धनगढी– आफ्नै लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ।
शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।
उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।
‘शनिबार भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ। उक्त निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिने आश्वासन दिएको छ। यद्यपि, कागजपत्र भने बनेको छैन,’ उनले भने।
अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ। तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ।
शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा ती नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो। त्यसपछि उनको मृत्यु भएको थियो।
भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा दुम्लिङका १२ वर्षीय बालक पवनको मृत्यु भएको हो । यस्तै १४ वर्षीया सरिना महरा पनि घाइते भएकी छिन्। उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ।
गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन विष्फोट गराउँदा उछिट्टिएको ढुंगाले बालक पवनको मृत्यु भएको थियो।
घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो। उनीहरूले अन्तराष्ट्रिय सीमा क्षेत्रमा विनासूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन्।
यसअघि पनि भारतबाट आएको ढुंगा तथा विस्फोटको कम्पनले आफ्नो घर चर्किएको, खेत बाँझिएको र आँगनमा बाधिएका पशुसमेत मरेपछि विस्थापित भएको मृतक बालकका बुवा हिक्मतसिंह महराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।