रोल्पा- रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ सेवा केन्द्र नजिकै जुगेखोलामा बुधबार भएको जिप दुर्घटनामा एकै घरका दाजु-भाइसहित तीन जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका-१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नम्बरको जिप दुर्घटना भएको थियो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए। जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।