काठमाडौं– राजु गुरुङको उम्मेदवारी खारेज भएको क्षेत्र रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीलाई समर्थन गर्ने भएको छ।
गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार रहेका केशवबहादुर थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरेका हुन्।
‘रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
रुपन्देही २ मा यसअघि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का गुरुङ उम्मेदवार थिए। उनीविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले उम्मेदवारी खारेज गरिदिएको थियो।
गुरुङ बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएर कालो सूचीमा रहेको उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतले उम्मेदवारी खारेज हुने निर्णय गरेका थिए। सर्वोच्चले त्यसैलाई सदर गरेको हो।
सत्ता गठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनका शीर्ष नेताहरूले जनमुक्ति पार्टीका थापालाई समर्थन गरेका हुन्।
यो क्षेत्रमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाट विष्णु पौडेल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।