काठमाडौं– असोज महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन साढे ६१ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोजमा बैंकहरूको निक्षेप ६१ अर्ब ६४ करोड रुपैयाँले बढेको हो।
असोजमा ५ वटा बैंकको निक्षेप संकलन घटेको छ भने बाँकी सबै बैंकको निक्षेप संकलन बढेको छ। बैंकहरूमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ। इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन्।
यता सनराइज बैंकको निक्षेप सबैभन्दा धेरै २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ भने एनएमबि बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको निक्षेप संकलन घटेको छ।
असोजमा बैंकहरूको कर्जा लगानी भने ३० अर्ब रुपैयाँले बढेको छ। बैंकहरूमध्ये ६ बैंकको कर्जा लगानी घटेको छ भने बाँकी सबैको बढेको छ। कर्जा लगानी सबैभन्दा धेरै बढाउनेमा इन्भेष्टमेन्ट बैंक अगाडि छ। बैंकको कर्जा ३ अर्ब ७९ करेड रुपैयाँले बढेको छ।
नबिल बैंकले पनि कर्जा लगानी २ अर्ब ९६ करोड रुपैयाँले बढाएको छ भने हिमालयन बैंकले २ अर्ब ८४ करोड र मेगा बैंकले २ अर्ब ७९ करोड रुपैयाँले बढाएको छ।
यता लक्ष्मी बैंकको कर्जा लगानी ९१ करोड रुपैयाँले घटेको छ भने ग्लोबल आईएमई र सनराइज बैंकको ४४ अर्ब रुपैयाँले घटेको छ। राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि कर्जा लगानी घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।