काठमाडौं – निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई आग्रह गरेको छ।
रौतहटमा भएको एक कार्यक्रममा भाषण गर्ने क्रममा अध्यक्ष नेपालले आफूले चुनाव जिते युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए। नेपालको उक्त भाषणमा निर्वाचन आचारसंहिता उल्लघंन भएको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ। स्पष्टीकरण सोधेसँगै आयोगले प्रहरी कार्यालयलाई पनि कारबाही अघि बढाउन पत्र काटेको हो।
‘आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेखिएको छ,’ आयोगले प्रहरी कार्यलयलाई लेखेको पत्रमा भनिएको छ,‘ निर्वाचन (कसुर तथा सजाय ) ऐन २०७३ अनुसार सजाय हुने व्यवस्था छ। निज माधवकुमार नेपालबाट निर्वाचनका सम्मुखमा युवाहरूलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउन कार्य गरेको सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही अघि बढाउन अनुरोध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।