काठमाडौं– नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा उम्मेदवार बनेका गगन पुरी भनिने रेवतीराज पुरीविरुद्धको मुद्दा पेसीमा चढेको छ।
सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा दायर गरेको मुद्दामा आज बिहीबार पेसी चढेको हो ।
विशेषका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासमा पुरीको मुद्दाको पेसी तोकिएको छ। पुरीको अकूत सम्पत्ति देखिएको र उक्त सम्पत्तिको स्रोत नखुलेको भन्दै उनीविरुद्ध विशेषमा मुद्दा दायर भएको थियो। उनै पुरीले माओवादी केन्द्रबाट झापाको क्षेत्र नम्बर ५ को (ख) बाट प्रदेश सभामा उम्मेदवारी दिएका छन्।
झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा १२ करोड १३ लाख ७२ हजार १७८ रूपैयाँ विगो दाबी गर्दै सम्पत्ति सुद्धीकरण विभागले २०७७ माघमा पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पुरीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ। यो मुद्दामा गगन मात्रै थुनामा थिए। पछि उनी ५ लाख धरौटीमा रिहा भएका थिए।
पुरीविरुद्ध यसअघि सरकारी कागजात तथा दस्तखत कीर्ते गरेको आरोपमा पनि मुद्दा दर्ता भएको थियो। सरकारी दस्तखत कीर्तेको आरोपमा पुरीसहित १६ जनाविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।