फाइल तस्बिर
बाँके– अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ। बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखेको जानकारी दिए।
राप्ती नदी र डुडुवा नालाको बीचमा पर्ने चौफेरी गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो। डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ। कच्ची घर भत्कन थालेका छन्। विस्थापितहरू गाँसबासको समस्यामा छन्।
राप्तीनदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन्। सो क्षेत्रमा डुबान तथा बाढी प्रभावित भएका करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको हो।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्नका लागि बाँकेका प्रजिअ खत्रीको नेतृत्वमा गएको टोली बाढीका कारण प्रभावित स्थान पुग्न नसकी खडैचाबाटै फर्केको छ। ‘डुडुवा बढी प्रभावित छ, नगरमै डुबानको समस्या भइरहेको छ’, उनले भने, ‘घरघरमा पानी पसे पनि मानवीय तथा चौपाया क्षति भने भएको छैन’, नगरकै वडा नं १८ र २० मा भने डुबान भएको उनले बताए। डुबानबाट प्रभावित ८६ जनालाई स्थानीय आदर्श माविमा राखिएको छ।
बाढीले गाउँ नै डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ। रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो। गाउँका दर्जनौं घरमा पूर्णरूपमा क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।