फाइल तस्बिर
चितवन– चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ। आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैंडा मरेको हो। सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए।
कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको जानकारी दिए। बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए।
यो आर्थिक वर्षमा यससँगै दुई गैंडा मरेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांकअनुसार ६ सय ९४ गैंडा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।