पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले स्वर्ण पदक जितेको छ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा बुधबार भएको फाइनल खेलमा नेपाली सेनालाई हराउँदै बागमतीले स्वर्ण पदक जितेको हो। फाइनलमा पराजित नेपाली सेनाले रजत पदक, सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे।
महिला ईपी टिम इभेण्टको स्वर्ण पदक नेपाली सेनाले जितेको छ। सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेको हो।
सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते। महिला सेबर टिम इभेन्ट प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश १ ले कास्य पदक जिते।
फेन्सिङको अंक तालिका अनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ। बागमतीले ४ स्वर्ण, एक रजत सहित ५ पदक प्राप्त गरेको छ। त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदक प्राप्त गरेको छ।
सशस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदका साथ तेस्रो स्थानमा छ। सुदूरपश्चिम प्रदेशले १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ।
त्यसैगरी प्रदेश १ तीन कास्य सहित पाँचौ स्थानमा रहेको छ। गण्डकी प्रदेशले १ कास्य पदक प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।