काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।
पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्।
निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीच बाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताएका छन्।
अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनीहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पा लगायत हिमाली क्षेत्रमा पुगेका पर्यटक निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण बीच बाटोमै अलपत्र परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।