काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सन्तुलित बजार व्यवस्थापन नै अनुगमनको नतिजा हुने बताएकी छ।
‘स्वच्छ बजारका लागि योगदान गर्नेहरु व्यापारमा प्रोत्साहित हुनुपर्छ। अनुचित काम गर्नेहरुमाथि निगरानी हुनुपर्छ,’ बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी डंगोलले दशैँ पर्व लक्षित अनुगमनको समीक्षा बैठकमा भनिन्।
अनुगमनको प्रभावकारिताका लागि काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को व्यवस्थाअनुसार महानगरको निरीक्षण अधिकृत तोकिने जानकारी उनले दिइन्।
अधिकारीहरुलाई उनले भनिन्, ‘वाणिज्य विभागबाट निरीक्षण अधिकृतको अधिकार प्रत्यायोजनका लागि अधिकारीको नाम सिफारिस गरेर पठाउने प्रक्रिया आजैबाट थालनी गर्नुहोला। यससँगै ऐनबमोजिम अनुगमनमा हेरिने विषयसँग सम्बन्धित विज्ञलाई सहभागी गराउने प्रक्रियाबाट अनुगमनलाई नतिजामुखी बनाउनुपर्छ।’
उपप्रमुख डंगोलले प्रक्रियाका विषयसँगै एकीकृत बजार अनुगमनमा जोड दिइन्। अनुगमनका नाममा एकै ठाउँमा धेरै समूह पुग्दा व्यापारिक क्षेत्रमा नकारात्मक सन्देश जाने भएकोले सरोकारवाला सबै एउटै टोलीमा सामेल भएर जानुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।