काठमाडौं– निजी वायुसेवा कम्पनी बुद्ध एयरले २४ वर्ष पूरा गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीको पोखरादेखि नयाँ दिल्ली उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक उडान सुरु भएसँगै अब दिल्ली सिधा उडान गर्ने उनको भनाइ छ। बस्नेत भन्छन्, ‘यसका लागि हामीले एटीआर–७२ सिरिजको जहाज नै प्रयोग गर्ने सोचमा छौं। भारतको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान सुरु हुनेछ।’
कम्पनीले दुई लाख ६४ हजार नौ सय १८ वटा उडानमार्फत् हाल सम्म एक करोड ८० लाख ३२ हजार चार सय ५८ यात्रुलाई सेवा दिएको जनाएको छ। जसमध्ये एक करोड ५१ लाख ४७ हजार आठ सय ९६ नेपाली, साढे १७ लाख भारतीय र सवा लाख विदेशी यात्रुलाई सेवा दिएको छ।
कम्पनीले हाल ११ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुईवटा बिचक्राफ्ट गरी कूल १६ वटा जहाजमार्फत् आन्तरिक र अन्तर्राष्ट्रिय गरी कूल १५ वटा गन्तव्यमा नियमित उडान सेवा दिँदै आएको छ।
मुलुकको उड्डयन उद्योगमा ५६ प्रतिशत बजार हिस्सा कायम गर्दै आएको कम्पनीले दैनिक अधिकतम पाँच करोड रुपैयाँको कारोबार गर्दै आएको जनाएको छ। कम्पनी अन्तर्गत विभिन्न विभागमा १५ सय कर्मचारी कार्यरत छन्। जसमध्ये एक सय ३० जना पाइलट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।