काठमाडौं– उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संरक्षक मुलायम सिंह यादवको सोमबार निधन भएको छ।
८२ वर्षीय यादव पिसाब इन्फेक्सनका कारण २६ सेप्टेम्बरदेखि गुरुग्रामको मेदान्ता अस्पतालमा उपचाररत थिए। उनको मृत्युबारे मुलायमका छोरा अखिलेश यादवले ट्विटमार्फत् पुष्टि गरेका हुन्।
उनको अन्तिम संस्कार भने मंगलबार गरिने बताइएको छ। उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गर्दै जमिनसँग जोडिएको नेताका रुपमा चित्रण गरेका छन्।
मुलायम ५५ वर्षसम्म राजनीतिमा सक्रिय थिए। सन् १९६७ मा २८ वर्षको उमेरमा पहिलोपटक विधायक बनेका मुलायम उत्तर प्रदेशको तीनपटक मुख्यमन्त्री बनेका थिए।
१९८९ मा पहिलोपटक उनी उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए। उनले केन्द्रमा पनि देवगौडा र गुजराल सरकारमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी सातपटक लोकसभा सांसद र ९ पटक विधायक चुनिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।