काठमाडौं– कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्। तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राँचुली गाउँमा मलामी गएका उनीहरु आइतबारदेखि सम्पर्कविहीन भएका हुन्।
दिउँसो १ बजेतिर मलामी गएका उनीहरु अझै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। उक्त घटनाबारे प्रहरीलाई आज बिहान पौने ७ बजेतिर मात्रै खबर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी शुरेशराज बमले जानकारी दिए।
उनले भने, ‘घटना हिजो दिउँसो १ बजेतिरको रहेछ। हामीलाई आज बिहान पौने ७ बजेतिर मात्रै खबर आयो। प्रहरी घटनास्थलतर्फ गइरहेको छ। फोन सम्पर्क नहुँदा विस्तृत विवरण आएको छैन। घटनास्थलमा प्रहरी पुगेपछि मात्र थाहा हुन्छ।’
उनका अनुसार प्रहरी चौकी नाग्मगाड र खल्लागाडबाट दुई टोली घटनास्थलतर्फ पठाइएको छ। बाटो अबरुद्ध भएका कारण प्रहरीले जेसिबी साथमा लिएर गएको छ। बाटो पन्छाउँदै घटनास्थलतर्फ जाने कार्य भइरहेको बमले बताए।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परमबहादुर शाहीसहितका १५ जना सम्पर्कविहीन भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।