फाइल तस्बिर
गलकोट– निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ। स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो।
निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ। चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिरोको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिए।
बागलुङ नगरपालिकाबाट लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीबाट दुई वर्षअघि पहिरो खसेको थियो। निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकीसम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी जोखिममा रहेको कार्कीको भनाइ छ।
भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकी नै विस्थापित हुने अवस्थामा पुगेको छ। स्वास्थ्यचौकीको पहिराले बागलुङ बजारबाट सिगाना हुँदै लामीचौर जाने सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ।
गत वर्ष पहिरो रोकथामका लागि केही पूर्वाधार निर्माण गरे पनि अहिले उक्त संरचनासहित पहिरो गएको वडाध्यक्ष कार्कीले बताए। कार्कीका अनुसार पहिरो मर्मतका लागि ठूलो रकम खर्च लाग्ने भएकाले बजेटका लागि नगरपालिकासँग पहल भइरहेको छ।
‘गत वर्ष पहिरो रोक्न केही काम गरेका थियौं, अहिलेको पहिरोले गत वर्षका काममा क्षति बनाएको छ, वडामा ५० लाखको बजेट छ तर त्यसलाई स्वास्थ्यचौकी संरक्षण अथवा अन्तै खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ’निरन्तरको वर्षापछि पहिरोले स्वास्थ्यचौकीसम्मै क्षति पुर्याएको छ।’
एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्यांकनबिनै निर्माण गर्दा समस्या भएको हो। स्वास्थ्यचौकीको झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा–चिरा पारेको स्वास्थ्यचौकीका प्रमुख शान्ता शर्माले बताइन्। पहिरोले स्वास्थ्यचौकी मुनिका तीन घरसमेत जोखिममा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।