प्यूठान– प्यूठानको माण्डवी गाउँपालिका-२ धनचौरमा पहिरोले आठ घर भत्किएका छन्। यस्तै ३० भन्दा बढी घर पहिरोको जोखिममा परेका छन्।
आइतबार बिहानको पहिरोले ८ घर पूर्ण रुपमा भत्किएको स्थानीय अमृत केसीले जानकारी दिए। स्थानीय बलबहादुर खत्री, ज्ञानबहादुर सार्की, रामबहादुर सार्की, दिलबहादुर सार्की, दिलबहादुर खत्री, हिमलाल खत्री र वीरबहादुर दमाईको घर पहिरोले बगाएको छ।
केसीले भने, ‘गाउँका कोही पनि मान्छे हिजोदेखि सुतेका छैनन्।’ उनले पहिरो झरिरहेकाले कुन बेला के हुन्छ भन्न नसकिने अवस्था रहेको बताए।
घर भत्किँदा पशुचौपायासमेत च्यापिएर मरेका छन्। ‘बस्तीदेखि माथिबाट पहिरो खसेको छ। जमिन चिरा परेर भासिएको छ। पहिरो खसेर बाटा–घाटाहरु बन्द छन्’, उनले भने।
पहिरो झर्ने क्रम नरोकिएकाले बस्ती नै जोखिममा परेको हो। प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि अहिलेसम्म पुगिनसकेको स्थानीयले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।