काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाहरुको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन्।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीप कोइराला, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेश प्रमुख, नायब महानिरीक्षक विदुर खड्कालाई टेलिफोन गर्दै सरकारको मुख्य दायित्व नागरिकको जिउ धनको रक्षा भएको भन्दै विपद्मा परेकाको तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाका दुई हेलिकोप्टर सुर्खेतमा तैनाथी अवस्थामा रहेको र मौसमका कारण घटनास्थलसम्म पुग्न नसकेको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन्।
त्यस्तै, मुलुकभर निरन्तरको वर्षापछि आएको बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार, उपचार, पुनर्स्थापना र राहतको व्यवस्था गर्न पनि गृहमन्त्री खाणले निर्देशन दिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी पुनका अनुसार लमहीमा डुबानामा परेका सात जनाको उद्धार भइसकेको छ।
अहिलेसम्म लमही नगरपालिकामा ७ घर, राजपुर गाउँपालिकामा २११ घर, गढवा गाउँपालिकामा ५८५ घर, राप्ती गाउँपालिकामा २५० घर डुबानमा परेका छन्।
अहिलेसम्म मानवीय क्षति भएको विवरण भने नआएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ। त्यस्तै, कालाकाटे, धानखोला र मुसोटखोलामा सडक अवरुद्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।