काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमालेसँग गठबन्धन गर्ने छलफल अन्तिम चरणमा पुर्याएका छन्। सत्ता गठबन्धनको बैठकमा जान छाडेको जसपाले २२ सिट लिएर एमालेसँग गठबन्धन गर्न लागेको बुझिएको छ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि ५ सिट लिएर एमालेसँगै गठबन्धन गर्ने तयारी गरेको छ। केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समेत एमालेले गठबन्धन गर्ने यसअघि नै तय छ।
एमालेले यी दुई दलसँगको गठबन्धन शुक्रबार साँझसम्म घोषणा गर्ने तयारी गरेको बुझिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच दशैंअघिदेखि नै गठबन्धनका लागि छलफल सुरु भएको थियो। सत्ता गठबन्धनमा ठाउँ नपाएपछि जसपा निरन्तर एमालेसँग छलफलमा छ।
जसपा स्रोतका अनुसार एमाले, जसपासँगै लोसपासहितको गठबन्धन बनाउनेगरी शुक्रबारदेखि गृहकार्यमा अघि बढेको छ। ‘एमालेले जसपालाई २५ सिट दिने लगभग सहमति भइसकेको छ। लोसपाका लागि जसपाले आफ्नो भागमा परेको २५ मध्ये ३ सिट छाड्न तयार छ। एमालेले थप २ सिट छाड्दा लोसपालाई ५ सिट हुन्छ। यहीअनुसार खाका बन्दैछ’, एक जसपा नेताले दाबी गरे।
जसपा कार्यकारणी समिति सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाले जसपाले एमालेसँग तालेमल गर्ने विषयको नजिक पुगेको बताए। उनले भने, ‘केन्द्रीय स्तरमा एमालेसँग चलिरहेको संवाद सकारात्मक रुपमा अघि बढेको सूचना पाएको छु। आजै बेलुकासम्म एमाले र जसपाबीचमा सहमति हुने सम्भावना छ।’
एमालेले राप्रपासँग पनि शुक्रबार छलफल गरिरहेको छ। केही सिटमा तालमेल गर्ने सहमति भइसकेपनि केहीमा दोहोरो दाबीका कारण औपचारिक हस्ताक्षर हुन बाँकी रहेको बुझिएको छ। एमालेले राप्रपासँग सहमति गरेपछि जसपा र लोसपासँग संवाद गर्ने भएको छ। ‘जसपा, लोसपा र एमाले बीचमा शुक्रबार बेलुकीसम्म सहमति हुन सक्छ’, ती नेताले भने।
एमालेसँग लोसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुरले संवाद गरिरहेका छन्। अध्यक्ष ओली र ठाकुरले केही चरणमा कुरा गरिसकेको लोसपा नेता सर्वेन्द्रनाथ शुक्ला बताउँछन्। ‘तीन दिनअघि नै हाम्रो अध्यक्ष ठाकुर र एमाले अध्यक्ष ओली बीचमा एक्ला-एक्लै संवाद भएर धेरै कुरा मिलिसकेको छ’, शुक्लाले भने, ‘कहाँ के भयो, यकिन थाहा छैन। तर, कुरा मिलिसकेको बुझेको छु।’
लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा एमालेसहित विचार मिल्ने पार्टीहरुसँग निर्वाचनमा तालमेल गर्नगरी संवाद गर्न समिति बनाएको थियो। शुक्लाले अध्यक्ष ठाकुर र ओलीबीचमै कुरा भइसकेकाले आफूहरु रहेको समितिको आवश्यकता नपरेको बताए।
‘म आफ्नो क्षेत्रमा आइसकेको छु। उम्मेदवारीको तयारीमा छु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।