पश्चिम नवलपरासी– लगातारको वर्षापछि नारायणी नदीको बहाव उच्च बनेको छ। नारायणीको बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ। गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो।
उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन्। नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेका छन्।
नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन्।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको जानकारी दिए।
तीनतर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय सिमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।