काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै , बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश १ का एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ।
साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।