कावासोती- पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ।
दलदले-कुमसोत-पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका-५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीका अनुसार लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेको छ। सडक अवरुद्ध भएपछि बौदिकाली र बुलिङ्गटार गाउँपालिकाको यातायात सेवा ठप्प भएको छ।
दललदलेबाट पहाडी क्षेत्रका लागि छुटेका र पहाडी क्षेत्रबाट दलदलेतर्फ आउँदै गरेका सवारीसाधन पाङ्रग्रेमा थन्किएका छन्।
दसैँमा टीका थाप्न हिँडेका सयौँ यात्रु पैदल नै आफ्नो गन्तव्यतर्फ लागेका छन्। उक्त क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ। पहिरो झर्ने क्रम नरोकिएकाले सडक पुनः सञ्चालनमा कठिनाइ भएको पुरीले बताए।
यसैबीच राइकोटबाट दलदलेका लागि छुटेको गण्डकी प्रदेश–०४–००१ ज ००६ नम्बरको जिप पहिरोमा परेको छ। जीपमाथि पहिरो खसे पनि त्यसमा सवार यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।