काठमाडौं– विजया दशमीको दिन पनि वर्षा नरोकिँदा मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न कठिनाइ परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश ठाउँमा मंगलबारदेखि नै वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ। आज प्रदेश १, मधेस प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ।
वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। विगत १२ घण्टामा काठमाडौंमा ३० एमएमको हाराहारीमा पानी परेको छ।
‘उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘सिमसिम पानी परिरहन्छ, तर ठूलो वर्षा हुँदैन। मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ।’
मौसमविद् कँडेलले यो प्रक्रिया अझै २/३ दिन रहने जानकारी दिइन्। ‘पश्चिम र सुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ। यो प्रक्रिया अझै २/३ दिनसम्म रहन्छ। यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ,’ कँडेलले भनिन्। उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।