काठमाडौं– भारतले हालै निर्माण गरेको हलुका लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ। हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले निर्माण गरेको हेलिकोप्टरमा ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको बताइएको छ।
सोमबार उक्त हेलिकोप्टरको भिडियो ट्विटरमा राख्दै गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड।’ यो हेलिकोप्टरले स्थल र वायु सेना दुवैको आवश्यकता पूर्ति गर्ने रक्षामन्त्री सिंहले बताएका छन्।
दुई इन्जिनयुक्त उक्त हेलिकोप्टरलाई सोमबार नै औपचारिक रुपमा भारतीय वायु सेनामा सामेल गरिएको छ। यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ।

भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन्।
यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट) को उचाइसम्म उडान भर्न सक्छ।

हेलिकोप्टर हरेक मौसममा २४सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिने बताइएको छ। उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिने बीबीसी हिन्दीले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।