काठमाडौं- भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजदेखि विधिवत् रूपमा बडादशैं सुरु भएको छ। आज बिहान १० बजेर १५ मिनेटको शुभसाइतमा तलेजुलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको छ।
राजप्रतिनिधिका रूपमा तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले खड्ग बोकेर अन्यले खड्ग लगायतका विभिन्न धार्मिक हतियारसहित लामबद्ध भएर विभिन्न बहुरत्न गहना पहिरिएर तलेजुको मूल मूर्तिलाई बोकेर १९ जनाले तलेजुलाई विधिवत् रूपमा दसैँघर पुर्याएका हुन्। आजदेखि विजयादशमीको दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ।
रातो र सेता कपडाको विशेष प्रकारको लुगा, पछ्यौरा र पगरी लगाएका तलेजुका पुजारी, नाइकेलगायतले धार्मिक विधिअनुसार विशेष पूजा गरी तलेजुलाई दसैँघर लैजाँदा परम्परागत विशेष बाजा बजाइएको थियो।
विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दसैँघरबाट मूलघरमा भित्र्याइने मूल नाइके जोशीले जानकारी दिए। फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिइन्छ।
तलेजुलाई दसैँ घर भित्र्याउँदा जिल्लाका सरकारी निकायका प्रमुखहरु र सर्वसाधारणको भीड लागेको थियो। तलेजुको मूल चोकमा सर्वसाधारण उभिएर तलेजुको दर्शन गर्दै दसैँघरमा भित्र्याएको हेरिरहेका थिए भने सरकारी निकायका प्रमुख एवं उनका परिवारलाई भने अतिविशिष्ट कक्षमा प्रवेश गराएर अवलोकन गराइएको थियो। दसैँघर भित्र्याएपछि मूल नाइके जोशीले तलेजुको फूल माला तथा प्रसाद प्रदान गरेका थिए।
अतिविशिष्ट कक्षबाट नियम उल्लङ्घन
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सहायक प्रजिअ माधवप्रसाद शर्मा, नेपाली सेनाका कर्णेललगायतका जिल्लाका केही सरकारी कार्यालयका प्रमुख एवं उनका परिवारलाई तलेजु आगम घरको उत्तरतर्फको माथिल्लो कक्षमा तलेजुको अवलोकन गर्ने व्यवस्था गरिएको थियो।
भक्तपुर तलेजुको कुनै पनि तस्बिर तथा भिडियो खिच्न बन्देज लगाइएको छ। तलेजुको मूलद्वारमा बसेका सुरक्षाको जिम्मा लिएका नेपाली सेनाको टोलीले क्यामरा लैजान निषेध गरे पनि मोबाइल भने सबैको हातहातमा थियो।
तलेजुको आगम घरमा रहेका नेपाली सेनाका सुरक्षाकर्मीले सर्वसाधारणलाई तस्बिर तथा भिडियो लिन निषेध गरे पनि अतिविशिष्ट कक्षमा रहेका सरकारी कर्मचारी तथा तिनका परिवारले भने माथिल्लो कक्षमै रहेर फोटो तथा भिडियो खिचेका थिए।
नेपाली सेनाले अतिथि कक्षमा रहेका केहीलाई रोकेपछि बेलाबेलामा तस्बिर र फोटो लिएपछि सेनादेखि पुजारी समेतले आपत्ति जनाएका थिए। नेपाली सेनाका एक जवानले ‘अतिविशिष्ट कक्षमा आनन्दले बसेका छन्, तस्बिर भिडियो लिन पाइँदैन भन्ने थाहा भएर पनि नियम कार्यान्वयन गराउनुपर्ने निकायकै परिवारले तलेजुको फोटो खिच्छन्, यो त अति भो’ भन्दै आपत्ति जनाएका थिए।
केहीलाई सेनाले तस्बिर मेट्न लगाएका थिए। तलेजुलाई दसैँघर भित्र्याउने क्रममा तस्बिर लिएपछि खड्ग बोकेका मूल नाइके जोशीले तलेजुको मूल मन्दिरबाटै आपत्ति जनाएर फोटो नखिच्न र मेट्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।