काठमाडौं- विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ।
महानगरले मङ्सिर १५ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिंडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ।
‘सार्वजनिक स्थलमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धूमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने/गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ,’ उक्त सूचनामा भनिएको छ।
प्रचलित कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन महानगरपालिकाबाट सूचना जारी गरिएको जनाएको छ।
उक्त सूचनाको उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बमोजिमको जरिवाना समेत हुने महानगरले जनाएको छ।
‘सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिका महानगरवासीमा विशेष आह्वान गर्दछ। २०७९ मङ्सिर १५ सम्म यो सूचनासम्बन्धी विभिन्न सचेतनामूलक तथा सूचनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ,’ सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।