काठमाडौं– बजारमा हुनसक्ने अनुचित क्रियााकलापमाथि काठमाडौं महानगरपालिकाले नियमित निगरानी राखिरहेको छ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको अनुगमन समितिले बजारको निगरानी गरिरहेको हो।
यस क्रममा आज शनिबार कालीमाटी तरकारी तथा फलफूल बजार र त्यसैसँग रहेको माछा बजारको अनुगमन गरेको हो।
कालीमाटीबाट दैनिक औसतमा ५ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्छ। बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन्।
यहाँबाट बिक्री हुने तरकारी उपत्यका र छिमेकी जिल्लासहित नेपालभरीबाट ल्याइएको हो। केही तरकारी तथा मसलाजन्य सामग्री भारतलगायत देशबाट आयात हुन्छ।
तरकारी बजारभित्रको व्यवसाय र नापतौल दर्ता र नवीकरणमा समस्या देखिएको छ। यस्तै खरिद बिक्री बिल जारी नगर्नु, मूल्य सूची नराखेको पाइएको छ। अनुगमन टोलीले समस्या सुधारका लागिसचेत गराएको महानगरले जनाएको छ।
कालीमाटीको माछाबजारबाट औसतमा दैनिक ४ मेट्रिक टन माछा बिक्री हुन्छ। काठमाडौंलगायत काभ्रेसम्मका खुद्रा बजारमा धेरै माछा यहीँबाट लगिएका हुन्।
अनुगमन टोलीसँग वडा १३ का कार्यवाहक अध्यक्ष रामबाबु कोइराला, वडा सदस्य रजनी महर्जन धौवन्जारलगायत पदाधिकारीहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।