काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले डबली संस्कृतिलाई पुनर्स्थापना गर्ने बताएकी छन्।
विश्व पर्यटन दिवस–२०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डबली हो। यसबाट प्रदर्शन हुने कलाले सहरलाई जीवन्त बनाउने मात्र होइन, विश्वभर परिचित पनि गराउँछ। त्यसैले हामी डबली पुनर्स्थापनाको सोचलाई पर्यटनसँग जोडेर वर्षभरि काम गर्नेछौं।’
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले जीवन्त सांस्कृतिक सहरलाई प्रवर्द्धन गरेर पर्यटन विस्तार गर्नुपर्ने बताए।
‘महानगरका मौलिकता र यससँग जोडिएका संस्कृति, पर्यटकका रुचीकर छन्। यसलाई स्थानीयबासीको आय र जीविकोपार्जनसँग जोड्नुपर्छ’, उनले भने।
दिवसको अवसर पारेर बसन्तपुरमा कला महोत्सव आयोजना गरिएको थियो। काठमाडौंको संस्कार, संस्कृति र जीवनसँग जोडिएका काठ, धातु, पत्थर र माटोका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए।
काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवद्र्धन संघका कार्यसमिति सदस्य चिरनरत्न शाक्यकाअनुसार बिक्रीका लागि राखिएका सामग्रीमा १ सय ५० रुपैयाँदेखि २ लाख ५० हजार मूल्यसम्मका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।