काठमाडौं– सोमबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको चौथो शिविरबाट आएको हिमपहिरोमा परी दर्जन बढी मानिस बेपत्ता भएका छन्। तेस्रो शिविरसम्म पुगेकाहरु पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ।
पहिरोमा बेपत्ता भएकाहरुको बिहानैदेखि उद्धारको लागि एभरेस्ट हेलिकप्टरबाट खोजी गरिएको थियो। तर बाक्लो कुहिरोका कारण पहिरो गएको स्थानसम्म उद्धार टोली पुग्न नसकेको प्रहरीले जानकारी दिएको छ।
समुद्र सतहबाट ६ हजार ५ सय मिटर भन्दामाथि उक्त हिम पहिरो गएकाले पैदल नै उक्त स्थानमा उद्धारको लागि पुग्नसमेत मुस्किल जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
‘मौसम खराब भएका कारण हेलिकप्टरहरु उक्त स्थानमा जान सकेको छैन। त्यसैले अहिलेसम्म आघिकारिक रुपमा कति जना बेपत्ता भए भनेर जानकारी आएको छैन,’ जिल्ला प्रहरी कार्यालय गोरखाले भन्यो, ‘केही समय अगाडि सिम्रिक एयरको हेलिकप्टरले तेस्रो आधार शिविरबाट उद्धार गरेर एक जनालाई काठमाडौंको कपनमा उपचारको लागि पुर्याएको छ। तर उनको पनि अहिलेसम्म पहिचान खुल्न सकेको छैन।’
प्रहरीका अनुसार १० देखि १५ जनाको टोली उक्त क्षेत्रमा आरोहणको लागि पुगेका थिए। आरोहणका लागि इमोजीन ट्राभल एजेन्सीका ५ जना, सेभेन समिटका ३ जना, एकके एक्सिपिडिसबाट २ जना, चितौरी एडभेन्चरबाट ३ जना गरी १३ जना मनास्लुको आधारशिविरबाट माथि गएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।