प्रतिकात्मक तस्बिर
भक्तपुर– नजिकै सिद्धिकाली मन्दिर। मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ।
बधशालाको खाली भुँइमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ। सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ भैँसी छन्। त्यहीँ गोठबाट बगेर आएको मलमूत्र बिक्रीका लागि काटिँदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको छ। मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिँगा भन्किरहेका छन्।
खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालक त्यहीँ फोहर भैँसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका छन्। अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको। बस्तीमा तीन बधशाला सबैको अवस्था उस्तै नै छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका विभिन्न बध अव्यस्थित एवं मासु पसलमा गरिएको अनुगमनका दृश्य फोहर, घिनलाग्दो मात्रै थिए। वर्षौदेखि कानुन उल्लङ्घन गरेर आम उपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो। अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, ‘छि, भैँसीको मासु, त्यो पनि यस्तो फोहर र लापरबाही, हजारौँ उपभोक्ता ठगी गर्दै मानवीय स्वास्थ्यमाथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ।’
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा भएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकूल पार्ने गरी लादी फालिएको लगायतका कसुर देखिएपछि टोलीले रु २० हजार जरिवाना लगाएको छ।
पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैँसीकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताइन्। उनले भनिन्, ‘धेरै जस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैँसीको मात्रै हुन्छ, मःमः पसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैँसीको मासु लाने गरेको हो।’
ग्राहकले भैँसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैँसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।