काठमाडौं– बहुदलपछि २०४८ वैशाख २९ मा चुनाव भयो। कांग्रेसको स्पष्ट बहुमत रहेको सरकार आन्तरिक विवादमा फस्यो। परिणामतः सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राजा वीरेन्द्रलाई धन्यवाद दिने प्रस्ताव असफल भयो।
त्यससँगै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे। जसअनुसार २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भयो।
सो चुनावमा सत्ताधारी नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत २४ वटा दल सहभागी भए। जसमध्ये ५ वटा दलले मात्रै प्रतिनिधित्व सुनिश्चित गरे।
२०४८ सालको चुनावमा ६९ सिट मात्रै जितेको एमालेले ८८ सिट जितेर पहिलो दल बन्यो। सत्ताधारी कांग्रेस भने ११० बाट ८३ सिटमा खुम्चियो। राप्रपा ४ (गाई १, हलो ३) सिटबाट २० (हलो) सिटमा पुग्यो।
२०४८ सालमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले हार बेहोरेका थिए। २०५१ मा सभामुख दमननाथ ढुंगाना हारे। भट्टराई मदन भण्डारीसँग पराजित भएका थिए भने ढुंगाना विद्या भण्डारीसँग पराजित भए।
बहुदलपछिको पहिलो संसद्का सभामुख बन्ने अवसर पाएका ढुंगाना काठमाडौं- २ बाट चुनाव लडेका थिए। अहिलेकी राष्ट्रपति भण्डारी पनि त्यही क्षेत्रमा चुनाव लडिन्। भण्डारी २१७६३ मत पाएर फराकिलो अन्तरले विजयी भइन्। ढुंगानाले जम्मा १३६४ मत पाए।
नेपालको पहिलो राष्ट्रपति बन्ने शौभाग्य प्राप्त भयो, डा रामवरण यादवलाई। २०४८ सालमा धनुषा- ५ बाट चुनाव जितेर आएपछि डा यादव स्वास्थ्य राज्यमन्त्री बनेका थिए। उनी २०५१ सालको मध्यावधिमा धनुषा- ५ बाटै उम्मेदवार बने। तर एमालेका रामलखन महतोसँग पराजित भए। महतोको १६ हजार ५९० मत थियो भने यादवको १५ हजार ८२६ मात्रै आयो।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीमण्डलका अन्य २ जना मन्त्री पनि पराजित भए। स्याङ्जाबाट गोपालमान श्रेष्ठ र कास्की-१ बाट तारानाथ रानाभाट। पूर्वमन्त्री श्रेष्ठलाई एमालेका ध्रुव लम्सालले १४ हजार ८२० मत ल्याएर पराजित गरे। श्रेष्ठको १२ हजार २३६ मत मात्रै आयो।
रानाभाटलाई खगराज अधिकारीले पराजित गरे। अधिकारीको १९ हजार ९६५ मत थियो भने रानाभाटको १८ हजार ७१४ मत आयो।
पछि आएर नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्री बने सुशील कोइराला। २०५१ सालमा भने उनी बाँके- २ बाट पराजित भए। उनलाई शान्ति समशेर राणाले ५ हजार मतले पराजित गरेका थिए। राणाको १५७११ मत आएको थियो भने कोइरालाले १०२२२ प्राप्त गरेका थिए।
२०५१ सालको निर्वाचनमा झापा- १ बाट कांग्रेस नेता कृष्ण सिटौला एमालेका पुष्पराज पोखरेलसँग १ हजार १४१ मतान्तरले पराजित भए। सिटौलाले १४ हजार ५११ ल्याउँदा पोखरेलले १५ हजार ६५२ मत ल्याए।
गणेशमानपुत्र प्रकाशमान सांसद बन्न दोस्रोपल्ट असफल भए। उनी काठमाडौं- ३ मा मनमोहन अधिकारीसँग प्रतिस्पर्धामा थिए। सिंहले ११३७८ मत पाउँदा अधिकारीले १५ हजार ६९२ मत पाएका थिए। यही कार्यकालमा अधिकारी ९ महिना १३ दिन प्रधानमन्त्री बने।
रुपन्देही- ३ मा एमालेका मोदनाथ प्रश्रितले कांग्रेसका बालकृष्ण खाँणसँग २०४८ सालको बदला लिए। खाँणले १५ हजार ३४५ मत मात्रै पाउँदा प्रश्रितले १९ हजार ६७५ मत ल्याएका थिए। यसैगरी सिराहा- २ बाट चित्रलेखा यादव पराजित भइन्। दार्चुलामा दिलेन्द्र बडू एमालेका प्रेमसिंह धामीसँग पराजित भए। भोजपुरबाट कांग्रेसका ज्ञानेन्द्र कार्कीले एमालेका हेमराज राईसँग पराजय भोग्नुपर्यो।
यसैगरी चित्रबहादुर केसी बाग्लुङ- २ बाट स्वतन्त्र उम्मेदवार थिए। कांग्रेसका मीनबहादुर खत्रीसँग २ सयभन्दा कम मतान्तरले हारे। केसीले १५ हजार ८९ मत ल्याएका थिए भने खत्रीले १५ हजार २८३ मत ल्याए। राजेन्द्र महतो कांग्रेसकी मीना पाण्डेसँग सर्लाही- २ मा दोस्रोपटक पराजित भए।
सिन्धुपाल्चोक- १ मा एमालेका अमृत बोहरासँग हारेका पशुपति शमशेर राणा सिन्धुपाल्चोक- ३ मा कान्छा लामालाई हराएर सांसद बने। मकवानपुर- २ मा एमालेका विरोध खतिवडालसँग पराजित कमल थापा मकवानपुर- २ एमालेका कृष्णप्रसाद दाहाललाई पराजित गरेर प्रतिनिधि सभामा आए।
२०४६ सालको जनआन्दोलनमा संयुक्त वाम मोर्चाको मानार्थ अध्यक्ष रहेका तुलसीलाल अमात्य पाँचौँ अधिवेशनपछि एमालेमा समाहित भएका थिए। एमालेले रौतहट- ३ बाट उनलाई उम्मेदवार बनाएको थियो, तर जिताउन सकेन। कांग्रेसका हरिहर यादवले १४ हजार ८९० मत ल्याउँदा अमात्यले १२ हजार ३६६ मत ल्याए।
एमालेले रुपन्देही- १ बाट उम्मेदवार बनाएका घनश्याम भूसाल कांग्रेसका दुर्योधन सिंहसँग पराजित भए। सिंहले १२ हजार ८१९ मत ल्याए भने भूसालले ११ हजार २४३ मत मात्रै पाए।
यो श्रृङ्खलाका अन्य सामग्री:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।