काठमाडौं– २०४८ सालको निर्वाचनमा कांग्रेसले २ सय ५ निर्वाचन क्षेत्रमध्ये १ सय १० सिट जित्यो। बहुमत ल्याएर फेरि सरकार बनाउने हैसियतमा पुगेको कांग्रेस ‘कमान्डर’ लाई मैदानमै छाडेर आएको विजयी सेना जस्तो भयो।
प्रधानमन्त्री तथा कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) काठमाडौं-१ बाट पराजित भए। उनी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग पराजित भएका थिए। भण्डारीले २७ हजार ३७२ मत पाउँदा भट्टराईले २६ हजार ६२१ मत मात्रै पाए।
२०१५ सालमा प्रचाराध्यक्ष अर्थात् ‘चुनावी कमान्डर’ का रुपमा भट्टराईले पराजय भोगेका थिए। त्यो समय हारेर पनि ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसद्को सभामुख बन्ने अवसर पाए। २०४६ सालमा बहुदल आएपछि अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाए। २०४७ सालको संविधान ल्याउनमा समन्वयकारी भूमिका खेले।
राजनीतिक रुपमा उनको योगदान मूल्याङ्कनयोग्य नै थियो। त्यसैमाथि बहालवाला प्रधानमन्त्री समेत भएकाले हार्ने अनुमान गरेका थिएनन्। एमाले महासचिव भण्डारी काठमाडौं- १ का साथै काठमाडौं- ५ मा समेत उम्मेदवार थिए।
भण्डारीले काठमाडौं–५ मा कांग्रेसका उम्मेदवार हरिबोल भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे। जहाँ भण्डारीले २७ हजार ४७५ ल्याउँदा हरिबोल भट्टराईले १८ हजार ९२८ मत ल्याए।
सिंहका आमाछोरा नै पराजित
बहुदल प्राप्तीको आन्दोलनका ‘कमान्डर’ नेपाली कांग्रेसका सर्वोच्च नेता नेता गणेशमान सिंह २०४८ सालमा उम्मेदवार बनेनन्। तर, उनको परिवारबाट भने दुई जना उम्मेदवार कांग्रेसले पायो।
काठमाडौं- ३ मा कांग्रेस नेतृ तथा गणेशमान पत्नी मंगलादेवी सिंह उम्मेदवार बनिन्। काठमाडौं-४ मा पुत्र प्रकाशमान सिंहले टिकट पाए।
तर, उक्त निर्वाचनमा आमाछोरा नै पराजित भए। नेकपा एमालेकी उम्मेदवार सहाना प्रधानले प्रकाशमानलाई हराइन्। प्रधानले २८ हजार ६८० मत ल्याइन्। सिंहले १९ हजार ५०४ मत मात्रै प्राप्त गरे।
एमालेकै पद्मरत्न तुलाधरसँग मंगलादेवी पराजित भइन्। तुलाधरले २६ हजार ४८० मत पाए भने मंगलादेवीले २० हजार ११५ मत ल्याइन्।
अहिले यी चर्चित नेता, जो त्यतिबेला पराजित भए
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई अहिले ५ वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि सिफारिस गरिएको छ। राष्ट्रिय राजनीतिमै प्रभावशाली उनी हार्ने सम्भावना निकै कम छ। तर, २०४८ सालमा यादवले विजेताले ल्याएको मतको एक तिहाइ मात्रै पाएका थिए।
नेकपा एमालेका तर्फबाट सुनसरी-४ मा उम्मेदवार बनेका उनले ८ हजार ६७२ मत पाउँदा नेपाली कांग्रेसका खलील मियाँले २४ हजार ३५० मत ल्याए।
हाल काठमाडौं-५ बाट निर्वाचन लड्दै आइरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनुषा- ३ बाट पराजित भए। त्यही भूगोलमा रहेर भूमिगतकालीन राजनीति गरेका उनलाई कांग्रेसका आनन्द ढुंगानाले पराजित गरे। ढुंगानाको २० हजार ८७७ मत थियो भने पोखरेलको १४ हजार ३११ मात्रै।
माओवादी केन्द्रका वर्तमान महासचिव देव गुरुङ लमजुङ- १ मा संयुक्त जनमोर्चाका तर्फबाट उम्मेदवार थिए, तर सांसद बन्न सकेनन्। उनले १० हजार ७८९ मत ल्याउँदा कांग्रेसका रामचन्द्र अधिकारी १६ हजार ६७८ मतसहित विजयी भए।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका वर्तमान उपसमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङ-२ बाट सांसद बन्ने प्रयास गरेका थिए। तर, उनलाई कांग्रेसका रामबहादुर गुरुङले १९ हजार ९२२ मत ल्याउँदै रोके। पृथ्वीसुब्बाको १२ हजार ८६१ मत आयो।
लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोको सांसद बन्ने चाहनामा कांग्रेसकी मीना पाण्डेले पानी खन्याइन्। सर्लाही-२ मा पाण्डेले १० हजार ६८४ मत पाउँदा नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बनेका महतोले ७ हजार ८२८ मत पाए।
कांग्रेस नेता कृष्ण सिटौला झापा- १ बाट उम्मेदवार थिए। तर, उनलाई एमालेका द्रोण आचार्यले हराए। आचार्यले १३ हजार ७२१ मत पाउँदा सिटौला ९ हजार ८२७ मै रोकिए।
नेकपा एमालेका चर्चित नेता जीवराज आश्रित पनि सांसद बन्न पाएनन्। गुल्मी-२ बाट उम्मेदवार बनेका उनलाई कांग्रेसका भागवत ज्ञवालीले पराजित गरे। आश्रितले २१ हजार ०११ मत ल्याए भने ज्ञवालीले २२ हजार ३६४ मत प्राप्त गरे।
माओवादी केन्द्रका वर्तमान उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा रुकुम-१ बाट पराजित भए। उनलाई कांग्रेसका गोपाल शाहीले पराजित गरे। शर्माले ११ हजार १२६ र शाहीले १२ हजार ४४१ मत ल्याएका थिए।
एमालेका वर्तमान उपाध्यक्ष युवराज ज्ञवाली कांग्रेसका खुमबहादुर खड्कासँग पराजित भए। उनले दाङ-३ बाट १४ हजार ५९४ मत पाए भने खड्काले २४ हजार १०५ मतसहित जित हासिल गरे।
अहिले राप्रपा नेपालका अध्यक्ष रहेका र त्यतिबेला राप्रपाका उम्मेदवार रहेका कमल थापा पनि पराजित भएका थिए। उनी मकवानपुर- १ बाट एमाले उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए। दाहालले १४ हजार १८४ मत पाउँदा थापाले ९ हजार ८२५ मत मात्रै पाएका थिए।
यस श्रृङ्खलाका थप सामग्री :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।