काठमाडौं- पार्टीका उच्च पदस्थ (हाइप्रोफाइल) नेताहरूलाई लिएर अहिले ‘नो नट अगेन’ अभियान चलिरहेको छ। उनीहरूको परीक्षा भइसकेको बताउँदै ‘हराउने’ अभियान चलिरहेको हो।
हरेक निर्वाचनमा सकेसम्म ठूला नेता सुरक्षित हुन खोज्छन्। पार्टीले पनि सकेसम्म उनीहरूलाई जिताउन कोशिस गर्छ। तर, परिस्थितिको पासा यसरी पल्टिन्छ कि उनीहरूले पनि हार्नुपर्छ। चाहे २०१५ सालमा कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको पराजय होस्। चाहे बहालवाला प्रधानमन्त्री भएकै बेला २०४८ सालमा कृष्णप्रसाद भट्टराई हार होस्।
२०६४ सालमा पहिलो पार्टी बन्ने अपेक्षासहित मैदानमा ओर्लेको नेकपा एमाले पार्टी मात्रै तेस्रो स्थानमा पुगेन, पार्टीका प्रमुख नेता अर्थात् महासचिव माधवकुमार नेपालले दुई क्षेत्रबाट पराजय भोग्नुपर्यो। २०७० सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० बाट पराजय बेहोरे।
नेपालमा लाइभमा हाइप्रोफाइलहरूको हारको विषय केलाउने क्रमको सुरुवात २०१५ सालको निर्वाचनबाट गरिएको छ। जुन निर्वाचनमा कम्युनिस्ट पार्टीका ठूला नेता पुष्पलाल श्रेष्ठ मात्रै होइन, कांग्रेस महामन्त्री सूर्यराज उपाध्याय, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र महेन्द्रविक्रम शाह पराजित भएका थिए। साथै, त्योबेला चुनावमा भाग लिएका ९ दलमध्ये ८ वटा दलका प्रमुखले नै हारेका थिए।
पुष्पलालको हार
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट गणेशमान सिंह उम्मेदवार थिए। यही निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीबाट पुष्पलाल श्रेष्ठ उम्मेदवार बने। दुवै प्रजातन्त्र ल्याउन योगदान गरेका नेता थिए भने आ-आफ्नो पार्टीमा पनि उनीहरूको ठूलो प्रभाव थियो। दुवैमा जित्ने अपेक्षा पनि स्वभाविक हुने भयो। तर, सिंहसँग श्रेष्ठले पराजय बेहोर्नुपर्यो।
‘नेपाली कांग्रेसको इतिहासको प्रारुप- २’ मा पुरुषोत्तम बस्नेतले उल्लेख गरेअनुसार सिंहले १० हजार ९८६ मत ल्याएका थिए। श्रेष्ठले भने उनी भन्दा तीन हजार कम अर्थात् ७ हजार ८ सय ४८ मत मात्रै प्राप्त गरे।
महामन्त्री उपाध्यायको हार, हारेका भट्टराई सभामुख
यो निर्वाचनमा १०९ वटा निर्वाचन क्षेत्र थिए। जसमध्ये ७४ स्थानमा कांग्रेसले विजय हासिल गर्यो। कांग्रेसमय भएको निर्वाचनमा पनि केही ठूला नेताको पक्षमा परिणाम आएन। कांग्रेसका तत्कालीन महामन्त्री सूर्यप्रसाद उपाध्याय दुई ठाउँबाट चुनाव लडेका थिए।
बस्नेतका अनुसार काठमाडौं पूर्व क्षेत्र नम्बर ५ मा संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लोचन शमशेर थापाबाट पराजित भए भने रामेछाप दक्षिण क्षेत्र नम्बर १४ बाट गोरखा परिषद्का उम्मेदवार बेनीबहादुर कार्कीबाट। काठमाडौं ५ मा उपाध्यायले ५,७७१ मत ल्याए भने थापाले ८,३५७ ल्याए। यसैगरी, रामेछाप १४ बाट कार्कीले ३,२१९ र उपाध्यायले २,८८३ मत ल्याएका थिए।
प्रतिनिधि सभा हारेका उपाध्यायपछि प्रतिनिधि सभाबाटै निर्वाचित हुने १८ जनाको कोटामा निर्वाचित हुँदै महासभा (माथिल्लो सभा) पुगेका थिए। महासभामा ३६ जना रहने व्यवस्था थियो। अन्य १८ भने श्री ५ बाट मनोनित हुने व्यवस्था थियो।
कांग्रेसका पूर्वमहामन्त्री तथा त्यसबेला प्रचाराध्यक्ष पूर्वमहामन्त्री कृष्णप्रसाद भट्टराई गोरखा क्षेत्र नम्बर १०४ बाट पराजित भए। गोरखा परिषद्का विश्वनाथ सुवेदीले ३१३३ मत ल्याउँदा उनले जम्मा २८०८ मत ल्याए।
चुनाव हारे पनि भट्टराई प्रतिनिधि सभाका सभामुख नियुक्त भएको ‘नेपालको निर्वाचन इतिहास १’ मा उल्लेख छ।
कांग्रेसका अर्का पूर्वमहामन्त्री महेन्द्र विक्रम शाह जुम्ला दक्षिण क्षेत्र नम्बर ७४ बाट पराजित भए। उनलाई स्वतन्त्र उम्मेदवार जयबहादुर महत क्षेत्रीले हराए। शाह सबैभन्दा अन्तिम स्थान अर्थात् पाँचौं भएका थिए। उनी अस्वस्थ रहेका कारण निर्वाचन क्षेत्र जान पाएका थिएनन्।
मुलुकमा प्रजातान्त्रिक आन्दोलनको पहिलो बिगुल फुक्ने पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित भए। तत्कालीन राजा महेन्द्रका विश्वासपात्र योगविक्रम शाह र हरिशमशेर राणाले पनि चुनाव हारे।
हार्नेमध्ये डा के आई सिंहले निर्वाचनमा प्राविधिक त्रुटि भएको भन्दै अदालतमा रिट दायर गरेका थिए। तर, उक्त रिट खारेज भयो।
बीपीबाहेक सबै पार्टी प्रमुख पराजित
२०१५ सालको निर्वाचनमा ९ दलले भाग लिएका थिए। कम्तिमा २२ क्षेत्रबाट निर्वाचन लड्ने दलहरूलाई निर्वाचन चिह्न दिइएको थियो। तर, छाता चुनाव चिह्न पाएको नेपाल राष्ट्रिय कांग्रेसले २० निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएपनि निर्वाचन आयोगले राष्ट्रिय दल स्वीकार्यो।
निर्वाचनमा भाग लिने दलहरूमा नेपाली कांग्रेस, नेपाल प्रजा परिषद् (आचार्य गुट), नेपाल प्रजा परिषद् (मिश्र गुट), संयुक्त प्रजातन्त्र पार्टी नेपाल, नेपाल प्रजातान्त्रिक महासभा, नेपाल राष्ट्रवादी गोरखा परिषद्, नेपाल कम्युनिस्ट पार्टी र तराई कांग्रेस रहेका थिए।
‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’मा जगत नेपालले उल्लेख गरेअनुसार त्योबेला पार्टी प्रमुखहरूमध्ये नेपाली कांग्रेसका सभापति बीपी कोइराला मात्रै निर्वाचित भएका थिए। बीपीले मोरङ क्षेत्र नम्बर ३२ बाट निर्वाचन जितेका थिए
गोरखा परिषद्का अध्यक्ष रणधीर सुब्बा क्षेत्र नम्बर २६ धनकुटा, तराई कांग्रेसका वेदानन्द झाले क्षेत्र नम्बर ३९ सिराहा, नेकपाका महासचिव केशरजङ रायमाझी पाल्पा क्षेत्र नम्बर ९३, प्रजातान्त्रिक महासभाका अध्यक्ष रङगनाथ शर्माले काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजय व्यहोरेका थिए।
सो निर्वाचनमा राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी र नेपाल प्रजापरिषद्का भद्रकाली मिश्रले पनि निर्वाचन हारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।