काठमाडौं– असोज १ गतेदेखि लागू हुने भनेर बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरमा गरेको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दे कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।
‘बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘८ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक, वित्तीय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ। अर्थतन्त्र सुंकचित हुँदै जांदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ।’
संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको महासंघको भनाइ छ। ब्याजदरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुने महासंघको भनाइ छ।
‘यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गर्न सकिन्छ,’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।