काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्।
मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि पनि इन्डोनेशियाको सरकारलाई आग्रह गरेका छन्। देउवाले इन्डोनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आह्वान गरेका छन्।
उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउँदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग पुर्याउने बताए।
राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए।
आगामी अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवर्द्धनका क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबिच दुई पक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।