लन्डन- मंगलबार अबेर विन्ड्सर कासलस्थित सेन्ट जोर्जेज् च्यापलमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको शवपेटिकालाई समाधिस्थ गरिएको छ ।
एउटा निजी प्रार्थना समारोह पछि उनको शव पेटिका उनका स्वर्गीय पति र राजपरिवारका अन्य सदस्यहरुको शव नजिकै समाधिस्थ गरिएको हो।
यस अघि लन्डनको वेस्टमिन्स्टर एबी गिर्जाघरमा महारानी एलिजावेथ द्वितीयाको राजकीय अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो।
स्थानीय समयानुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उनकी श्रीमती लगायत विश्व नेताहरु सहभागी भएका थिए। प्रार्थना समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि भाग लिएका थिए।
अन्त्येष्टिपूर्व महारानीको शवपेटिकालाई बेलायती सेनाको गन क्यारेजमा राखेर वेस्टमिन्स्टर हलबाट वेस्टमिन्स्टर एबीमा ल्याइएको थियो।
शवपेटिकाको अगाडि बेलायती सेनाका स्कटिस तथा आइरिश रेजिमेन्टहरु, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरु परम्परागत बाजा बजाउँदै परेडमा हिँडेका थिए।
राजा चार्ल्स तृतीयसहित राजपरिवारका सदस्यहरु शवपेटिकालाई पछ्याउँदै हिँडेरै अन्त्येष्टिस्थल पुगेका थिए।
बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको शवलाई अन्त्येष्टि समारोहपछि पश्चिम लन्डनस्थित विन्डसर क्यासल लगिंदै छ, जहाँ एक निजी समारोहबीच उनलाई आफ्ना स्वर्गीय पति प्रिन्स फिलिपको समाधि नजिकै समाधिस्थ गरिनेछ।
अन्त्येष्टि समारोह पूरा हुनुपूर्व रानीका पाइपरबाट राष्ट्रिय गानको धुन प्रस्तुत भएको थियो भने देशैभर दुई मिनेटसम्म मौनधारण गरिएको थियो।
वेस्टमिन्स्टर हलमा राजकीय सम्मान
९६ वर्षको उमेरमा गत ८ सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको स्कटल्याण्डको बाल्मोरल दरबारमा निधन भएको थियो। त्यसपछि चार दिनसम्म वेस्टमिन्स्टर हलमा राजकीय सम्मानका साथ राखिएको उनको शवलाई दशौँ हजार मानिसहरुले श्रद्धान्जली व्यक्त गरेका थिए।
महारानी एलिजावेथ द्वीतीयका तीन छोराहरु चाल्र्स, एन्ड्रु र एडवार्डका साथै एक छोरी आनसहित चार सन्तान छन्। उनका जम्मा ८ नातीनातिना र १२ पनातीपनातिना छन्।
स्वर्गीय महारानीको सम्मानमा नेपालले तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको थियो।
नेपाल तथा बेलायतबीच २०० वर्ष भन्दा पुरानो सम्बन्ध रही आएको छ। सुगौली सन्धिपछि बेलायतले नेपाली युवाहरुलाई आफ्नो सेनामा भर्ति गर्न सुरु गरेको थियो, जो वीर गोर्खाली सैनिकको नामले विश्व प्रसिद्ध छन्।
बेलायत नेपालको एउटा प्रमुख दातृ राष्ट्र पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।