काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ सकिँदा नेपाल २–० ले पछि परेको छ।
खेलको १३औं मिनेटमा गोल गर्दै बंगलादेशले नेपालविरुद्ध अग्रता बनाएको थियो। बंगलादेशकी मोनिका चक्माको पासमा समसुनहर जुनियरले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरिन्।
घाइते भएपछि खेलको ३ औं मिनेटमा मोसमत सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी समसुहनरले गोल गरेकी हुन्।
त्यस्तै, ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले दोस्रो गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाइन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले फासको फाइनल खेल भइरहेको छ। दुवै टिम उपाधि जित्दै इतिहास रच्ने दाउमा छन्। अहिलेसम्म बंगलादेश र नेपालले महिला साफको उपाधि जितेका छैनन्।
साफ महिला च्याम्पियनसिपको पाँचौं फाइनल नेपालले खेल्दैछ भने बंगलादेशको यो दोस्रो फाइन खेल हो।
नेपालको तर्फबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बू, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाइमा मैदान उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।