तस्बिर : एञ्जिला तुम्बापो सुब्बाको फेसबुकबाट।
काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ)को महिला च्याम्पियनसिपको उपाधिका लागि आज (सोमबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।
सोमबार साँझ ५ बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ। उता पाहुना टोली बंगलादेश पनि पहिलो पटक साफको उपाधि जित्दै इतिहास रच्ने दाउमा छ। रोचक त के भने यी दुवै टिमले जारी प्रतियोगितामा एक गोल पनि खाएका छैनन्। अहिले यीनै दुई टिम आमनेसामने हुँदै उपाधि जितेर इतिहास रच्ने होडमा छन्।
साफ महिला च्याम्पियनसिप पाँच पटकसम्म जितेको भारतलाई सेमिफाइनलमै हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। भारतलाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। पहिलो पटक भारतलाई हराएर इतिहास रचेको नेपाल उपाधि जित्दै अर्को इतिहास रच्ने दाउमा छ। समूह चरणको खेलमा बंगलादेशले पनि भारतलाई ३–० गोल अन्तरले हराएको थियो।
नेपालका लागि यो फाइनल खेल पाँचौ हो भने बंगलादेशका लागि दोस्रो हो। पाँच पटकसम्म फाइनल पुग्दै उपाधिविहीन बनेको नेपाल यो पटक भने उपाधि रक्षाका लागि निकै बलियो देखिएको छ।
महिला साफमा आफूलाई सबैभन्दा बलियो रुपमा उपस्थित गराएको टीम भारतलाई हराएर फाइनमा प्रवेश गरेका नेपाल र बंगलादेश दुवैले आफूलाई बलियो रुपमा उभ्याइसकेका छन्।
नेपाल र बंगलादेश यसअघि आठ पटक आमनेसामने भइसकेका छन्। जसमध्ये तीन भेट साफ, २ खेल दक्षिण एसियाली खेलकुद (साग), दुई मैत्रीपूर्ण र एक खेल ओलम्पिकमा आमनेसामने भएका थिए।
जसमा ६ खेल नेपालले जितेको थियो भने २ खेल बराबरीमा सकिएका थिए। आठ पटकको भेटमा नेपालले १४ गोल गरेको थियो भने बंगलादेश जम्मा २ गोल मात्रै गरेको थियो।
उता साफकै कुरा गर्दा सन् २०१० मा बंगलादेशमै आयोजना भएको पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशलाई ३–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो।
सन् २०१२ को दोस्रो संस्करणको साफमा बंगलादेश समहू चरणबाटै बाहिरिएको थियो। सन् २०१४ मा भएको तेस्रो संस्करणको साफमा बंगलादेश सेमिफाइनलसम्म पुगेको थियो। त्यतिबेला नेपालसँगै १–० गोल अन्तरले हार्दै बंगलादेश सेमिफाइनबाटै बाहिरिएको थियो।
सन् २०१६ मा भने पहिलो पटक बंगलादेश फाइनल प्रवेश गर्दै इतिहास रचेको थियो। त्यतिबेला सेमिफाइनलमा ६–० गोल अन्तरले माल्दिभ्सलाई हराएर बंगलादेश फाइनल प्रवेश गरेको थियो। फाइनमा भने भारतले बंगलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो।
सन् २०१९ मा आयोजना भएको साफमा भने भारतसँगै ४–० हार ब्यहोर्दै बंगलादेश सेमिफाइनलबाटै बाहिरिएको थियो। सन् २०१९ कै समूह चरणको खेलमा बंगलादेश नेपालसँग ३–० गोलले पराजित भएको थियो।
दक्षिण एसियालीस्तरको सिनियर महिला फुटबलमा नेपालले भारतबाहेक अन्य टोलीसँग हार ब्यहोरेको छैन। यो क्षेत्रको सिनियरस्तरको महिला फुटबलमा नेपालले आठौँपटक फाइनल खेल्न लागेको हो। नेपाली महिला टोली दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलका यसअघि आयोजित सबै तीन संस्करणमा फाइनल पुगेकामा ती सबैमा भारतसँग नै पराजित भएको थियो।
यता, बंगलादेश यो पटक भने निकै सुधारिएको प्रर्दशन गरिरहेको छ। जारी साफमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–०, भारतलाई ३–० र भुटानलाई ८–० ले पराजित गरेको छ। जारी प्रतियोगितमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बंगलादेशकै सबिना खातुन छिन्। उनले प्रतियोगितामा ८ गोल गरिसकेकी छिन्।
जारी प्रतियोगितामा नेपालले भुटानलाई ४–०, श्रीलंकालाई ६–० र भारतलाई १–० गोलले हराएको छ। नेपाली टिमका प्रशिक्षक कुमार थापा घरेलु मैदानको फाइदा उठाउँदै उपाधि चुमेर इतिहास रच्ने दाउमा छन्। उनले भनेका छन्, ‘दर्शकको ऊर्जाले यो पटक नेपालले इतिहास रच्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।