फाइल तस्बिर।
धनगढी– बिहीबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको बनहरा शिविर डुबानमा परेको छ। पूर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती शनिबार बिहानैदेखि डुबानमा परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।
शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० जनालाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ।
‘३५ जना जतिलाई पारि जंगलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ’, डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भने, ‘बनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ।’
स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको उनले बताए।
वडा नम्बर १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।