काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले समयमै निर्वाचन खर्च नबुझाएकोमा जरिवाना तिर्नुपर्ने भएको छ। मेयर बालेनले ढिलागरि निर्वाचन आयोगलाई चुनावको खर्च विवरण बुझाएका थिए।
निर्वाचन सकिएको ३० दिनभित्र बुझाउने खर्च विवरण ढिलागरि बुझाएकोमा गत महिना निर्वाचन आयोगले ७ दिनको समय राखेर स्पष्टीकरण मागेको थियो।
आयोगले स्पष्टीकरण मागेपछि मेयर शाहले स्पष्टीकरण दिएको भएपनि आयोगले जरिवाना तिर्नुपर्ने भनेको उनको सचिवालयले जनाएको छ।
‘विभिन्न कामको व्यस्तयाले ढिला खर्च विवरण बुझाएको भन्ने व्यहोराको स्पष्टीकरण बुझाएका थियौं। तर, आयोगले त्यसलाई अस्वीकार गरेकोले अब आयोगले भने बमोजिम जरिवाना तिर्छौं’, मेयर शाहको सचिवालयका एक सदस्यले नेपाल लाइभलाई भने।
निर्वाचन आयोगले शुक्रबार एक विज्ञिप्ति जारी गर्दै करिब सवा लाख उम्मेरवारले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे छ। उनीहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही अगाडि बढाएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।