धनगढी- सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच वर्षपछि अपाङ्गता प्रादेशिक निर्देशक समितिले पूर्णाता पाएको छ। प्रदेश सरकार गठन भएको पाँच वर्ष पुग्नै लाग्दा सामाजिक विकास मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले शुक्रबार पूर्णता पाएको हो।
शुक्रबार मन्त्री गोविन्दबहादुर बोहराले शारीरिक अपाङ्गताका तर्फबाट डडेल्धुराका गणेशप्रसाद अवस्थी, दृष्टिविहीनका तर्फबाट कञ्चनपुरका खेमा सापकोटा (पन्त) र सुस्त श्रवणका तर्फबाट कैलालीका दिनेश पनेरुलाई मनोनित गर्दै समितिलाई पूर्णता दिए। उनीहरुलाई शुक्रबार नै मन्त्री बोहराले नियुक्त पत्र प्रदान गरी बधाईसमेत दिएका छन्।
सो समितिले अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन, वार्षिक कार्ययोजनाको स्वीकृत प्रदान, कार्यक्रम सम्बन्धी वार्षिक, अर्धवार्षिक समीक्षा कार्यक्रमहरुमा सहभागी हुने र प्रतिवेदनहरु स्वीकृत गर्ने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यकता अनुसार अनुगमन गर्ने लगायतका भूमिका र जिम्मेवारी रहनेछ।
चार वर्षसम्म सो समिति गठन नहुँदा अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यरत संघ/संस्थाहरुले प्रदेश सरकारले ल्याउने वार्षिक बजेट, नीति तथा कार्यक्रम अपाङ्गमैत्री हुन नसकेको गुनासो गर्दै आएका थिए। उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि यथाशीघ्र समिति गठन गर्न दबाब दिँदै आएका थिए।
बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बोहराले ढिलै भएपनि समितिले पूर्णता पाएकोमा खुशी व्यक्त बताउँदै निर्देशक समितिमा मनोनित भएका व्यक्तिहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि इमान्दारितापूर्वक काम गर्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।