धनगढी- राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले डाक्टर गोविन्द केसीका मागबारे सरकार गम्भीर हुनुपर्ने प्रतिक्रिया दिएको छ।
कार्यालयबाट पुगेकाे टाेलीले शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका डाक्टर केसीलाई भेट गर्दै जायज माग पुरा गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने प्रतिक्रिया दिएकाे हाे।
मानवअधिकार आयोगका प्रदेश प्रमुख मोहनदेव जोशीले प्रदेश कार्यालयले केन्द्रीय कार्यालयमा डाक्टर केसीका मागको सम्बोधनका लागि सिफारिस गर्ने बताए। उनले डाक्टर केसीको स्वास्थ्य अवस्थामा समस्या बढ्दै गएपछि आयोगले अनुगमन गरेको बताए।
डाक्टर केसी पाँच दिनदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि सुदूरपश्चिम प्रदेशको धनगढीमा अनसनमा रहेका छन्।
डाक्टर केसीका मागबारे अहिलेसम्म सरकारले कुनैपनि आधिकारिक प्रतिक्रिया नदिएको सहयोगी अमृत जैशीले बताए।
केसीको यो २०औं अनसनमा एक्येवद्धता जनाउने कार्यक्रम गर्ने भनिएको भएपनि वर्षाका कारण प्रभावित भएको छ।
जैशीले भने, ‘कैलालीका विभिन्न स्थानबाट ठूलो संख्यामा मानिस आउने कार्यक्रम थियो। तर, वर्षाका कारण कार्यक्रम प्रभावित भएकाले शनिबार गर्ने तयारी भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।