धनगढी– स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै ३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्यमा समस्या आएपछि धनगढीस्थित गिता सत्संग समितिको धर्मशाला भवनमा अनसनमा रहेका डाक्टर केसीलाई अस्पतालको वार्डमा भर्ना गरिएको हो।
‘स्वास्थ्यमा समस्या आएपछि अनसनरत स्थानबाट अस्पतालमा सिफ्ट गरिएको छ’ डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैसीले भने, ‘डाक्टरको स्वास्थ्य परिक्षणपछि अस्पतालको प्रसृति गृहपछाडि रहेको छुट्टै वार्डमा भर्ना गरिएको छ।’ डाक्टर केसीलाई बोल्नमा समस्या भरहेको, बल्ड प्रेसरमा कमी, शरीर कमजोर भएको उनले जानकारी दिए। उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए।
बुधबार बिहान उनको रगत र पिसाबको परीक्षण गरिएको थियो। सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले उनको स्वास्थ्य परीक्षण गरेका छन्।
यस्तै, बुधबार डाक्टर केसीको अनसनलाई समर्थन गर्दै ६० जनाभन्दा बढी सर्वसाधारणले भेटघाट गरेको बताए। उनले भने –‘चिकित्सक, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका यहाँका सर्वसाधारणले उनको अनसनमा समर्थन गर्ने बढेका छन।’ उनले दैनिकजसो उनको स्वास्थ्य अवस्था बुझ्न आम सर्वसाधारणहरु अनसनस्थलमा आइरहेको बताए।
केसीकाे याे अनसन २०औं पटक हाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।