काठमाडाैं- सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु महाअभियाेग समितिमा बयान दिन नजाने भएका छन् ।
महाभियाेग सिफारिस समितिसँगकाे बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम मुछेपछि न्यायाधीशहरुलाई पनि समितिले बोलाएको थियो। समितिले बोलाएपछि बसेको फुलकोर्टको बैठकले सहभागी नहुने निर्णय गरेको हो ।
समितिले बोलाएपछि छलफलका लागि कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले फुलकोर्ट बैठक बोलाएका थिए । समितिले न्यायाधीशहरुलाई बिहान साढे ८ बजे बोलाएको थियो । ‘महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही बेहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाई दिने’ फुलकोर्टको निर्णयमा भनिएको छ। समितिले बुधबार राणाले नाम लिएका व्यक्तिहरुलाई बोलाउनुपर्ने भएको भनी पत्र लेखेको थियो ।


राणाले कामु प्रधानन्यायाधीश दिपककुमार कार्की, हरिकृष्ण कार्की, प्रकाशकुमार राउत लगायतको नाम लिंदै समितिमा बयान दिएका थिए । राणाले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश हुन चलखेल गरेको आरोप लगाएका थिए भने हरिकृष्ण कार्कीलाई मुद्दा पन्छाउने न्यायाधीशको उपमा दिएका थिए । त्यस्तै राउतबारे पनि उनले पदीय आचरण बाहिर गएर टिप्पणी गरेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।