काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साहजनक बृद्धि देखिएको छ। यो दिन सेयर बजार नेप्से परिसूचकमा पछिल्लो १ महिना यताकै उच्च वृद्धि भएको छ।
गत साउन ३० गते ५५.८८ अंकको वृद्धि पश्चात यस दिनको वृद्धि नै उच्च वृद्धि रहेको छ। बुधबार नेप्से परिसूचक ४.४४ अंक बढेर १९८१.४८ विन्दुमा पुगेको छ। यसैदिन सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२० अंक बढेको छ।
आज नेप्से सूचकसंगै कारोबार रकम पनि बढेको छ। मंगलबार १ अर्बभन्दा कमको सेयर कारोबार भएको बजारमा यस दिन २२७ स्टकको ३१ हजार २३ पटकको कारोबारमा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको ४६ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यसदिन २४ रुपैयाँ ९० पैसा बढेर २७३ रुपैयाँ ९० मा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने युनाइटड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त र गोर्खाज फाइनान्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्सेले)ले जानकारी दिएको छ। आज एनआईसी एशिया फ्लेक्सी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यसदिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको साढे ६ करोडको सेयर कारोबार भएको छ। यसदिन गोर्खाज फाइनान्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको ४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
यस दिन सबै उपसमूहको परिसूचक उकालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक ५.७५ प्रतिशत, विकास बैंकको ४.६२ प्रतिशत र जलविद्युतको ३.६२ प्रतिशत बढेको छ।
यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको नेप्सेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।