काठमाडौं- पूर्वन्यायाधीश फोरमले महाभियोग छानविन समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयानप्रति खेद प्रकट गरेको छ।
राणाले पूर्वन्यायाधीशहरुलाई महामण्डले भनी टिप्पणी गरेका थिए। पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले राणाले गरेको टिप्पणीले न्यायालयकै अपमान गरेको बताएका छन्।
‘पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलने गरी निलिम्बित प्रधानन्यायाधीशको बयानप्रति खेद प्रकट गर्दछौं,’ सिंहले भने, ‘प्रधानन्यायाधीशसँग पूर्वन्यायाधीशहरुले कुनै माग गरेको वा कुनै सुविधा तथा पद लिएको कुरा पुष्टि गर्न चुनौती दिन्छौं।’
संसदीय समितिमा बयान दिइरहेको समयमा अरुमाथि यस्तो आरोप लगाउनु गलत भएको उनीहरुको टिप्पणी छ।
पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिएपछि महाभियोग समाप्त हुन नहुने माग गरेको छ। पत्रकार सम्मेलनमा कुरा गर्दै पूर्वन्यायाधीश सिंहले महाभियोग अन्य जस्तो अभियोग नभएकाले यसलाई पुष्टि वा सफाइ नदिएसम्म नसकिने दावी गरे।
उनले संसदमा पुगेर भोटिङ गरेपछि मात्र सकिने, हतारमा गरेर अभियोग लागेको व्यक्तिमाथि केही नहुने उनले बताए।
‘संसद् सकिएपछि महाभियोग सकिने कुरा पनि आएको छ। तर त्यसको अन्तिम निराकरण हुँनै पर्छ,’ उनले भने, ‘नत्र ५४३ आरोप राणामाथि कामयै नै रहन्छ। यो कार्यकालले भ्याएन भने निरन्तर नै रहने विश्वभर अभ्यास रहेको छ।’
उनले वाटर गेटमा पनि यस्तै भएको भन्दै नेपालमा पनि चोलेन्द्रको महाभियोग कायम नै रहनुपर्ने दावी गरे। अर्को संसदमा पनि कायम हुने र अवकाश पाए पनि उनीमाथि छानविन भएर प्रष्ट हुनुपर्ने सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।