काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको सवारीका कारण बुधबार पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सीडीयो कार्यालयदेखि भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।
त्यस्तै दिउसो ३ : ३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने छ।
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
चिनियाँ नेता लीले बुधबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
सोमबार काठमाडौं आइपुगेका उनले सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए। सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष ली बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।