त्रिशुली– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गएराति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।
गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ। ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।
मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन्। उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन गरिरहेका छन्।
ठक्कर दिने बा ३ ख १६४ नंको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन्। चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए।
दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्याउने प्रयास गरेका थिए। घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।