काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष प्रेमबहादुर गाहामगरलाई पदमुक्त गरिएको छ।
संघका महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलले संयुक्तरुपमा एक पत्र पठाउँदै संघको विधानविपरीत विवादास्पद र गैरजिम्मेवार तथा अवाञ्छित क्रियाकलापमा संलग्न भएको भन्दै मंगलबारदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदबाट हटाइएको जनाएका छन्।
संघको यूके कार्यसमितिको बहुमतले समेत कारबाही गरेको अवस्थामा कारबाहीको पत्रलाई संघले अध्ययन गर्दा कारबाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएकोले संघको संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसार कारबाही गरिएको पत्र संघले अनुमोदन गरेको पत्रमा उल्लेख छ।
यस्तै गाहामगरलाई आफूसँग भएका गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण कागजात, सम्पत्ति, कार्यालय सामग्रीहरू मंगलबारकै मितिदेखि दुई हप्ताभित्र यूके कार्यसमितिलाई हस्तान्तरण गर्न समेत पत्रमा भनिएको छ।
साथै आइन्दा संघका नाममा कुनैपनि गतिविधि नगर्न नगराउन समेत अनुरोध गरिएको छ।
यसै गरी गैरआवासीय नेपाली संघ युकेका सचिव बिष्णु खरेललाइ लेखिएको एक पत्रमा महासचिवद्वयले 'पत्र प्राप्त भएको ३० दिन भित्र नियमानुसार गैरआवासीय नेपाली संघ युकेको विशेष साधारण सभा आह्वान गरी आवश्यक काम कारवाही अघि बढाउन' समेत भनिएको छ। उक्त विशेष साधारण सभाले एनआरएनए युकेको नयाँ अध्यक्ष निर्वाचित गर्ने अपेक्षा गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।