काठमाडौं– गायिका समिक्षा अधिकारीले लामो समयदेखि एउटा दुःखद् घटना भोगिरहेको बताउँदै आफूले क्षतिपूर्ति माग्ने काम नगरेको र लिँदा पनि नलिने बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको लज्जास्पद तस्बिर र गाली गलौजले मानसपटलमा नकरात्मक प्रभाव परेको समेत उल्लेख गरेकी छन् ।
‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनैपनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन’ उनले लेखेकी छन् ।
आफू अस्मिता रक्षाका लागि अडिग रहेको र दर्शक स्रोताकै मायाले यहाँसम्म पुर्याएको बताउँदै आफूमाथि परेको घटनालाई आफ्नै घरको घटनाको रुपमा लिइदिन पनि उनले आग्रह गरेकी छन् । साथै सकारात्मक साथ सहयोग र विचारले सांगीतिक क्षेत्रलाई सहयोग पुग्ने आशा लिएको बताएकी छन्।
अधिकारीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा दिएको उजुरीका कारण पल शाह भनिने अभिनेता पूर्णविक्रम लामो समयदेखि मुद्दा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।
करणीको उजुरी दिएपनि पछि उनले शाहबाट आफूमाथि कुनै किसिमका दूर्व्यवहार नभएको भन्दै बयान परिवर्तन (हाेस्टाइाल) गरेपछि उनमाथि टिकाटिप्पणी हुँदै आएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।