सांकेतिक तस्बिर
दाङ– रोल्पामा टिकटक बनाउने क्रममा खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
टिकटक बनाउने क्रममा खोलामा खसेको र उनलाई खोलाले बगाएको उनका साथीहरुले प्रहरीलाई बयान दिएका छन। खातुनलाई सोमबार ३ बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्।
खातुनलाई खोलाले बगाएको देखेपछि उनका साथीहरूले जालले माछा मार्दै गरेका एक व्यक्तिसँग गुहार मागेका थिए। ती माझीले खातुनलाई बचाउन प्रयास गरेपनि सफल हुन नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।
सोमबार दिउँसोदेखि नै खातुनको खोजी भएपनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।
मंगलबार बिहानदेखि खोजी सुरू गरिएकोमा दिउँसो साढे २ बजेतिर सुनिल स्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीस्थित सोनु पेट्रोल पम्पनजिकै खुङ्ग्री खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमर्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।